हिंड्दा हिंड्दै हिंडिएको रहेछ यत्रो बाटो

बसेको भए

बसिरहेकै हुनेथियौं एकै ठाउँमा

अब थकाइको

दुखाइको, पसिनाको

र भोक तिर्खाको भर्त्सना के गर्नु

तिनको सम्झना अब सुखद नै छ

ती बिना सम्भव हुनेथिएन यो यात्रा |

उक्लिंदा उक्लिँदै उक्लिइसकिएछ यति माथि

ओरालो लागेको भए यति नै झरिइन्थ्यो होला

अझ बेसी !

जीवनको र सामर्थ्यको

बरु एउटा सीमा होला

यात्राको कुनै सीमा छैन

र म “ऊ त्यो सीमासम्म पुगेर आएँ”

भन्ने मान्छे पनि भेटिएको छैन

प्रेमले, सद्भावले या करुणाले  

जसले यो उकालोको बाटो देखाइदियो

उसलाई कोटी धन्यबाद दिंदै

हामी लागौं

अझ माथि माथि |